

नवलपरासी । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।
कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरीले जनाएको छ । तर पहिरो ठूलो भएकाले खुल्न समय लाग्नेछ ।
सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।