
नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ। भूमिहीन, दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो। प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित बसोवासी रहेका छन । प्रतापपुर गाउँपालिकाको ९ वटै वडामा क्रमैसंग जग्गा नाप्ने काम हुने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए।
जिल्लाको सात वटा पालिका मध्य पाल्हिनन्दन गाउँपालिका बाहेक अन्य सबै पालिकामा जग्गा प्राप्तिका लागि भूमिहीन र अव्यवस्थित बसोबासले फारम भरिसकेका छन । जिल्लामा २१ हजार २ सय २८ जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङले बताए।
आयोगका अनुसार सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा ७ हजार २ सय ७४, सुनवल नगरपालिकामा ६ हजार, सरावल गाउँपालिका २ हजार ४ सय ३, सुस्ता गाउँपालिकाका २ हजार ३ सय, प्रतापपुर गाउँपालिका १ हजार ६ सय ६८ र रामग्राम नगरपालिकामा १ हजार ५ सय ८३ जनाले फारम भरेका छन । पाल्हिनन्दन गाउँपालिकामा भने फारम भर्ने काम पनी हुन सकेको छैन् ।