
सांकेतिक भाषाको माध्यामबाट शिक्षणा कार्यलाई प्रभावकारी बनाउन नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिकाका शिक्षकहरुलाई सांकेतिक भाषा तालिम संचालन गरिएको छ । प्रतापपुरको बेलाटारीस्थित बहिरा विद्यार्थी स्रोत कक्षा संचालन गरिहरेको त्रिभुवन माविमा शुरु भएको पन्ध्र दिने उक्त तालिममा पालिकाका विभिन्न ११ विद्यालयका शिक्षकसहित १५ जनाको सहभागिता छ । प्रतापपुर गाउँपालिकाको आयोजना, अपांगता समावेशी विकास परियोजनाको सहयोग र युनाइटेड मिसन टु नेपाल (यूएमएन ) र सुनवल सामुदायिक विकास केन्द्रको सहकार्यमा उक्त सांकेतिक भाषा प्रशिक्षण संचालन गरिएको हो ।
सुस्त श्रवण भएका बालबालिकालाई शिक्षण गर्न शिक्षकलाई सहज बनाउने उदेश्यले प्रशिक्षण संचालन गरिएको अपांगता समावेशी विकास परियोजनाका संयोजक श्याम सुन्दर ढुंगानाले बताउनुभयो ।
उहाँले भन्नुभयो “बुझ्न पाउने सबै नागरिकको अधिकार होे” “स्रोत कक्षा बाहेक अन्य विद्यालयमा पनि बहिरा बालबालिकाले पढ्न सक्ने वातावरणका लागि शिक्षकहरुमा सांकेतिक भाषको ज्ञान हुनु जरुरी छ । त्यस कारणले पनि यो तालिम फलदायी हुने विश्वास लिएका छौँ” ।
सांकेतिक भाषाको ज्ञान नहुँदा बहिरा विद्यार्थीले व्यक्त गर्न खोजेको कुरा शिक्षकले नबुझ्ने र शिक्षकले पनि बुझाउन नसक्दा विद्यार्थीहरुलाई पढाईप्रति रुची घट्ने भएकोले शिक्षकहरुलाई सांकेतिक भाषा सिकाउन खोजिएको यूएमएनका परियोजना म्यानेजर अर्जुन तामाङ्गले बताउनुभयो ।